काठमाडौंः बृहत् नागरिक आन्दोलनले शनिबार विज्ञप्ति जारी गर्दै योे संकटको क्षणमा आमजनतालाई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको जनाएको छ ।
कोरोना महामारीको बीचमा आमजनताले जनउत्तरदायी राजनीति खोजिरहेको बेला मतपत्र थमाउने झुटो घोषणा गर्नु मानवताविरुद्धको अपराध भएको ठहर नागरिक आन्दोलनको छ । विज्ञप्तिमा भनिएको छ,‘जनताको जीवन रक्षा गर्ने जनस्वास्थ्य प्रणाली र राज्यको स्रोतसाधन सार्वजनिक हित र न्यायको निम्ति चाहिएको छ । सुशासन प्रत्याभूत गर्ने जनउत्तदायी सरकार चाहिएको छ, सत्ताकब्जा होइन । जनस्वास्थ्यको संकट सामना गर्ने बृहत्तर सहकार्य चाहिएको छ, महाव्याधिको संकटलाई कूका निम्ति दुरुपयोग गर्ने षड्यन्त्र होइन ।’

